सामाजिक सञ्जाल एपहरूमा खतराको लेबल लगाउन चिकित्सक हरूकाे माग

सिगरेट र रक्सीमा जस्तै सामाजिक सञ्जाल एपहरूमा खतराको लेबल लगाउन एक अमेरिकी चिकित्सकले संसदसँग माग गरेका छन् ।

सिगरेट र रक्सीमा जस्तै सामाजिक सञ्जाल एपहरूमा खतराको लेबल लगाउन एक अमेरिकी चिकित्सकले संसदसँग माग गरेका छन् । सर्जन जनरल डाक्टर विवेक मूर्तिले सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यलाई निम्त्याउने खतरालाई सम्बोधन गर्न तत्काल त्यस्तो कदम चाल्न माग राखेका हुन् ।

 

न्यू योर्क टाइम्समा लेख लेख्दै डाक्टर मुर्तिले युवाहरूमा हुने मानसिक स्वास्थ्यको प्रमुख कारण सामाजिक सञ्जाल भएकोब बताएका छन् । जुन एउटा आपतकालीन समय जस्तै भएको उनको भनाइ छ । लेखमा उनले विभिन्न अध्ययनहरू उद्धृत गरेका छन् । जसमा २०१९ मा जेएएमएमा प्रकाशित अमेरिकन मेडिकल एसोसिएशनको अध्ययन पनि छ । सो अध्ययनले सामाजिक सञ्जालमा दिनको तीन घण्टा बिताउने किशोरहरूलाई डिप्रेसनको जोखिम दोब्बर हुने निष्कर्ष निकालेको थियो । ग्यालप पोलका अनुसार किशोर किशोरीहरूले विभिन्न सामाजिक सञ्जाल दिनमा करिब पाँच घण्टा बिताउँछन् । 

बालबालिकाले विश्वभर नै सामाजिक सञ्जाल प्रयोग गरिरहेको र सो संख्या करिब ९५ प्रतिशत भन्दा बढी भएको उनले अन्तर्राष्ट्रिय सञ्चार गृह सीएनएनसँग बताएका छन् । यद्यपि डाक्टर मूर्ति एक्लैले सामाजिक सञ्जालमा चेतावनी लेबल लगाउन सक्दैनन् । त्यही भएर उनले ऐन पारित गर्न अमेरिकी सांसदलाई अनुरोध गरेका हुन् ।

उनले सो प्रवृत्ति कम गर्न विद्यालयहरूलाई फोन‍मुक्त बनाउनु पर्ने, पारिवारिक कार्यक्रम तथा माध्यमिक तह उत्तीर्ण नभएसम्म बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिएका छन् । हाल अमेरिकामा फ्लोरिडा र न्यू यर्क जस्ता केही राज्यले भने यसमा काम गर्न थालेका छन् । 

पछिल्लो समयमा अमेरिकी कां‍ग्रेसले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ गर्दै आएकाे छ‍ । यसअघि मेटाका सीईओ मार्क जुकरबर्गले सार्वजनिक रूपमा नै आफ्नो प्लेटफर्ममा प्रयोग गरेर बालबालिका बिग्रेको बारे माफी मागेका थिए ।