बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठानमाथि कारबाही

 बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ३७ हजार सात सय जरिवाना र रु तीन लाख ४० हजार सात सय १२ क्षतिपूर्ति तिराइएको छ । सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

यस्तै चालु आवको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो । सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको जनाएको छ । चालु आवमा एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उहाँले बताउनुभयो । चालु आवको १० महिनामा पारिश्रमिकसम्बन्धी ७० वटा उजुरी दर्ता भएकामा ५५ वटा उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो अवधिमा श्रमिक आपूर्तिकर्ता कम्पनी दर्ता तथा नवीकरणबापत रु ६८ हजार पाँच सय, बालश्रमसम्बन्धी जरिवानाबापत रु ३७ हजार सात सय र ट्रेड युनियन दर्ता तथा नवीकरणबापत रु एक हजार छ सय ५३ गरी रु एक लाख सात हजार आठ सय ५३ राजस्व सङ्कलन भएको छ । यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

सोह्र वर्ष कैद सजाय पाएका वाइबा २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैदा सजाय पाएर विगत २० वर्षदेखि फरार एक जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्दरसरोबर गाउँपालिका–१ नयाँगाउँ निवासी ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका सावि–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई  गत २०६१ जेठ ३ गते नगद रु ५० हजार लुटपाट गरी कुटपिट गर्दै भिरबाट लडाएर हत्या गरेको कसुरमा मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते वाइबालाई १६ वर्ष कैद र रु. तीन लाख जरिवानाको फैसला गरेको थियो ।
 
अदालतको आदेश लगत्तैबाट फरार वाइबालाई गोप्य सूचनाका आधारमा नयाँगाउँस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका वाइबालाई भोलि आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने उहाँले बताउनुभयो ।

धमाधम पक्राउ पर्दै फरार अभियुक्त

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार रहेका अभियुक्त ध्माधम पक्राउ पर्न थालेका छन् । अदालतबाट भएका फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी टोली परिचालन गरेपछि धमाधम अभियुक्तहरू पक्राउ पर्न थालेका हुन् । 

मकवानपुर जिल्ला प्रहरी कार्यालयले चालु आवको ११ महिनामा कैद तथा जरिवानाको सजाय पाइ फरार एक सय ९७ पुरुष र ४१ महिला गरी दुई ३७ जनालाई पक्राउ गरेको छ । प्रवक्ता भण्डारीका अनुसार पक्राउ परेकाले विभिन्न अदालतबाट एक सय आठ वर्ष चार महिना २९ दिन कैद तथा रु ३९ लाख ३२ हजार आठ सय २२ जरिवानाको सजाय पाएका छन् ।