मन्थलीका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

 रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिइएको छ । 

सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले पालिका क्षेत्रका २० जनालाई २० दिने तालिम दिएको उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिनुभयो । 

तालिमका क्रममा पञ्चेबाजामा प्रयोग हुने दमाहा, टेम्को र ढोलक, सनाइ, झ्याम्टालगायतका परम्परागत बाजा बनाउन सिकाइएको उहाँले बताउनुभयो । यी सामान लाम्पातेको काठ, बाख्रा, गोरु, भैँसीलगायत जनावरको छालाबाट बनाउने गरिन्छन् । कच्चापदार्थको अभाव, छाला ढुवानीलगायत समस्याका कारण पछिल्लो समय यो पेसा सङ्कटमा छ । 

तालिमका प्रशिक्षक जब्बरबहादुर वादीले कच्चापदार्थको अभाव र नयाँ पुस्ताको अरुचिका कारण पेसा सङ्कटमा पर्न थालेको बताउनुभयो । “एकातिर यो पेसामा लाग्नेहरुलाई हेयको दृष्टिले हेर्ने परम्परागत सोच छ । यसकारण धेरै युवा चाहेर पनि यो पेशामा लाग्दैनन्, लागेकाहरु पनि कच्चापदार्थ नपाउनेलगायत समस्यका कारण पलायन हुँदैछन् । अर्कोतिर आधुनिक बाजाले हाम्रा परम्परागत बाजाको महत्व पनि विस्तारै कम हुँदै गएको आभास हुन थालेको छ”, उहाँले भन्नुभयो ।