जिम्बाब्वे प्रहरीले विपक्षी नेता जेम्सन टिम्बा सहित ७० जनाभन्दा बढीलाइ बैठकमा अव्यवस्थित आचरणको आरोपमा पक्राउ

जिम्बाब्वे प्रहरीले विपक्षी नेता जेम्सन टिम्बा र ७० जनाभन्दा बढी व्यक्तिलाई सप्ताहन्तमा आयोजित एक निजी बैठकमा अव्यवस्थित आचरणको आरोपमा पक्राउ गरिएको उनका वकिलले बताएका छन् ।

नेल्सन चमिसाले गत जनवरीमा राजिनामा दिएपछि विपक्षी नागरिक गठबन्धन (सीसीसी) को अन्तरिम नेतृत्व सम्हालेका टिम्बालाई उहाँको छोरासँगै पक्राउ गरिएको थियो ।

“उहाँहरूलाई अव्यवस्थित आचरण र गैरकानूनी भेलामा भाग लिएको अभियोग लगाइएको छ, उहाँहरू भोलि अदालतमा उपस्थित हुनुहुनेछ,” टिम्बाका वकिल एजेन्सी गुम्बोले एएफपीलाई भने, “प्रहरीले उहाँहरूमाथि ढुङ्गामुढा गरेको आरोप लगाएको छ ।”

गुम्बोका अनुसार उक्त समूहलाई राजधानी हरारेका दुई फरक प्रहरी चौकीमा राखिएको छ । उनले सामाजिक सञ्जाल एक्समा पक्राउ परेका केही व्यक्तिलाई चिकित्सा उपचार आवश्यक रहेको उल्लेख गरे ।गत वर्ष अगस्ट २३ मा भएको विवादित चुनावपछि जिम्बावेका विपक्षीहरूले गिरफ्तारीको लहरको सामना गर्नुपरेको थियो ।

आधिकारिक नतिजाअनुसार ८१ वर्षीय राष्ट्रपति इमर्सन मनङ्गाग्वाले दोस्रो कार्यकालका लागि ५२ दशमलव छ प्रतिशत मत ल्याएर जिते ।उक्त नतिजालाई सीसीसीले त्रुटिपूर्ण भन्दै निन्दा गरेको छ र नयाँ मतदानको माग गरेको छ । निर्वाचनलाई लिएर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि मतपत्रमा धेरै अनियमितता भएको भन्दै आलोचना गरेका छन् ।

“हामी हाम्रा च्याम्पियनहरूलाई तुरुन्त रिहा गर्न माग गर्दछौँ । उहाँहरूले कुनै कानूनको उल्लङ्घन गर्नुभएको छैन । उहाँहरूको गिरफ्तारी मानवअधिकारको मुद्दा हो”, गुम्बोले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।