हङकङमा सात किशोरी र एक महिलालाई दुर्व्यवहार गरेको आरोप एक युट्युबरलाई पाँच महिना जेल सजाय

महिलाहरूलाई दुर्व्यवहार गरेको आरोपमा हङकङको अदालतले एक युट्युबरलाई साढे पाँच महिना जेल सजाय सुनाएको छ।

२८ वर्षीय युट्युबर क्यारिज लाउमाथि सात किशोरी र एक महिलालाई दुर्व्यवहार गरेको आरोप लागेको हो।गतवर्षको नोभेम्बर २९ देखि यस वर्षको जनवरी १ सम्म गरेको दुर्व्यवहारको आधारमा उनलाई चुनमुन अदालतले दोषी ठहर गरी शुक्रबार उक्त निर्णय सुनाएको हो।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा लाउले जानाजानी फ्याँकेका सामान उठाउने बहानामा किशोरी तथा महिलाको खुट्टा छुने गरेका थिए। छोटो अवधिमा पटक–पटक गरिएको यस्तो हर्कतलाई अदालतले कानुनविपरीत भन्दै सजाय सुनाएको उल्लेख छ।पीडितहरूमध्ये ६ जना १३ देखि १६ वर्ष उमेर समूहका स्कुले विद्यार्थी, दुई जना १८ वर्षका विश्वविद्यालयका विद्यार्थी र अर्की २५ वर्षीया क्लर्क हुन्।

सञ्जालमा देखिएका भिडिओअनुसार लाउले उनीहरूलाई चिनसु वाइ स्पोर्ट्स ग्राउन्ड, छिनचाक स्टेटस्थित चाकफाइ हाउस, ग्रान्डर टेरेस सपिङ सेन्टर, टि टाउन मल, छिनयाट स्टेटस्थित याटयु हाउस र चुनवान प्लाजामा रहेको याचा डिपार्टमेन्ट स्टोर आदि स्थानमा दुर्व्यवहार गरेका थिए।

लाउको पक्षबाट वकालत गरेका वकिलले उनले यस घटनामा पीडितहरूसँग माफी माग्ने र भविष्यमा यस्ता गल्ती नगर्ने प्रतिबद्धता जनाएका थिए।तर, निमित्त प्रमुख मजिस्ट्रेट ड्यानियल ताङले छोटो अवधिमा उस्तै किसिमले पटक-पटक एउटै अपराध गरेको उल्लेख गरे।