ह्वाट्सएपम स्क्रिन शेयर सुविधा, ३२ जनासम्म भिडिओ कलमा सहभागी हुन सकिने

 मेसेजिङ प्लेटफर्म ह्वाट्सएपको भिडिओ कलिङ फिचर थप अपग्रेड भएर आएको छ । कम्पनीले सबै डिभाइसलाई हुनेगरी भिडिओ कलमा ३२ जनासम्मको समूहमा भिडिओ कल गर्ने सुविधा दिएको हो ।

यो फिचरले समूह संवाद र सहकार्यलाई अझ सजिलो बनाउने कम्पनीको विश्वास छ । विशेषगरी परिवार, साथीहरूको समूह तथा कार्यालयका सहकर्मीहरूका लागि यो फिचर उपयोगी हुने कम्पनीको भनाइ छ ।

यसबाट ह्वाट्सएपलाई अन्य भिडिओ कलिङ प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने अनुमान छ । साथै नयाँ अपडेटले उच्च गुणस्तरको भिडिओ र साउन्ड प्रदान गर्ने कम्पनीको दाबी छ ।

 

त्यस्तै नयाँ इन्टरफेसले प्रयोगकर्ताहरूलाई अझ सजिलो र सहज अनुभव प्रदान गर्ने तथा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार कलिङ अनुभवलाई कस्टमाइज गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

ह्वाट्सएप भिडिओ कलहरूले अब अडिओसँगै स्क्रिन शेयरसमेत सपोर्ट गर्ने बताइएको छ । त्यस्तै कम्पनीले ल्याएको 'स्पिकर स्पटलाइट' फिचर अन्तर्गत ग्रुप कलमा बोल्ने व्यक्ति स्वचालित रूपमा हाइलाइट भई स्क्रिनमा सुरुमा देखा पर्ने कम्पनीले जनाएको छ ।

यी सबै सुविधा केही सातामै सबै ह्वाट्सएप प्रयोगकर्ताले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।