ओखरबोटमा विद्युतीकरण

 म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले ओखरबोट गाउँका ६० घरमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको जानकारी दिनुभयो । 

“घरघरमा मिटरबक्स जडान भएपछि ओखरबोटमा विद्युत् वितरण थालिएको हो”, उहाँले भन्नुभयो, “ओखरबोटको छिमेकी खनेतका ६० घरमा गत वैशाख महिनामा बिजुली बालिएको थियो । थप करिब चार सय घरधुरीमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”

ओखरबोटका बासिन्दा नविन पुनले विद्युतीकरण भएपछि स्थानीयवासीमा खुसियाली छाएको बताउनुभयो । विद्युत् सुविधाले गाउँलेको दैनिक जीवनयापन सहज भएको बताउनुभयो । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको गत चैत अन्तिम हप्ता परीक्षण गरिएको थियो । 

विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको रविन्द्र÷ढुङ्गाना जेभीका प्रतिनिधि दिनेश ढुङ्गानाले चार वटा ट्रान्सफर्मर चार्ज र मुख्य लाइनको परीक्षण सफल भएको जानकारी दिनुभयो । “मालिकाको वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले र ४ नम्बर वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गरी चार्च र परीक्षण सफल भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीन वटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नम्बर वडाको घ्याङलेपानी बाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

विद्युत्को कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दाले सोलार र टुकी प्रयोग गर्छन् । वर्षौको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । रुममा चार वर्षअघि तार तान्ने र पोल गाडिएको थियो । 

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न गत आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको भौगोलिक र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो । 

कूल ४७ दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सामग्री, उपकरण खरिद, ढुवानीसहित सबै काम गर्न कूल रु २० करोड ५३ लाख ३६ हजार दुई सय ७८ लागत अनुमान गरिएको छ । 

    एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९÷८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।