रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार

युरोपेली सङ्घ (इयु) का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन् ।  

उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले ‘घातक गतिविधिलाई सुविधा दिएको दाबी गर्दै मस्कोले इयुभित्र विभाजन रोप्ने प्रयासहरू बढाइरहेको चिन्ता व्यक्त गरेका छन् ।

रूसी कूटनीतिक मिसनका सदस्य र उनीहरूका परिवारका सदस्यको आवागमनलाई उनीहरूको मान्यता प्राप्त राज्यको क्षेत्रमा मात्र प्रतिबन्धित गर्नुपर्ने विश्वास ती मन्त्रीले व्यक्त गरेका छन् ।विदेश नीति प्रमुखलाई पठाएको पत्रमा चेक, डेनिस, डच, एस्टोनियन, लाटभियन, लिथुआनियाली, पोलिश र रोमानियाली मन्त्रीहरूले जुन ११ हस्ताक्षर गरेका हुन् ।

प्रस्तावित उपायले ‘रूसी ‘एजेन्ट’हरूका लागि आवागमन गर्ने ठाउँलाई सङ्कुचित गर्ने उनीहरूले जनाएका छन् । फेब्रअरी २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि युरोपेली सङ्घका देशहरूले आफ्नो भूमिमा रूसी कूटनीतिज्ञको सङ्ख्या उल्लेख्य रूपमा घटाएका छन् ।