कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि

कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार सात सय ९७ मेट्रिकटन उत्पादन भएको थियो । यसवर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष दुई सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उहाँले बताउनुभयो । केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो । 

जिल्लामा यसवर्ष तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । तोरी (एकल बाली) आठ हजार छ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) पाँच हजार तीन सय ४० मेट्रिकटन गरी कूल १३ हजार नौ सय ६० मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष १३ हजार नौ सय ५१ हेक्टरमा तोरी खेती गरिएको थियो । यसवर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।