बारामा बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी

काठमाडौँ, २९ जेठ : बाराको जीतपुरसिमरा उपमहानगर–२१ स्थित नेपाल आयल निगम अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत् सर्ट भई आगलागी भएको उद्योग प्रशासनले जनाएको छ । 

उद्योगका कर्मचारी ज्ञान भरोसी प्रसाद गुप्ताले अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताए । उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएका छन् । 

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेका बताए । ‘अहिले के–के क्षति भयो भन्ने हामीले हेरिसकेका छैनाँै, उद्योगभित्र रहेका कच्चा पदार्थहरू जलेर नष्ट भएको भन्ने सूचना छ,’ उनले भने ।

आगलागी नियन्त्रण लिन नेपाल आयल निगम अक्लेखगञ्ज डिपो, जीतपुरसिमरा, कलैया र हेटौंडा उपमहानगरको दमकल प्रयोग गरिएको थियो । 

आयल निगमसँगै रहेको बिटुमिन तथा ब्यारेल उद्योगले सडक कालोपत्र गर्न प्रयोग गरिने कच्चा पदार्थ उत्पादन गर्दछ ।