राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान

काठमाडौँ, २९ जेठ राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । उनले बिहीबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गरेका हुन्।

विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो। विमानस्थलमा बिदाई गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीलगायत उच्च अधिकारीहरु सहभागी भएका थिए।

रामचन्द्र पौडेलले ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका क्रममा उनले  जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।