अदालत मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

 काठमाडौँ, २९ जेठ:  मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन  दर्ता भएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई एक करोड ५० लाखको योजना दिने निर्णय गरेको थियो । त्यसलाई चुनौती दिँदै उनीहरुले मंगलबार रिट दायर गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । 

उक्त निर्णय शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको भन्दै निर्णय बदर गरी परमादेशको आदेश जारी गर्न माग गरिएको छ । रिटको पेशी बुधबारलाई तोकिएको छ ।  

मधेस सरकारले गरेको उक्त निर्णयले संविधानको धारा १६२ र धारा २१४ अनुरूप प्रदेश कार्यकारिणी र स्थानीय तहको कार्यकारिणी अधिकारसमेत हस्तक्षेप भएको रिटमा दाबी गरिएको छ ।