चीनमा अमेरिकी शिक्षकमाथि चक्कु प्रहार

चीनको जिलिन सहरमा सोमबार चार अमेरिकी कलेज शिक्षकमाथि चक्कु प्रहार भएको छ।

आक्रमणबाट महिला शिक्षिकासहित सबैजना गम्भीर घाइते भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। सीएनएनको रिपोर्टका अनुसार अमेरिकाको आयोवा राज्यको कर्नेल कलेजका सबै शिक्षकहरू सार्वजनिक पार्कमा उपस्थित थिए जब उनीहरूमाथि आक्रमण भएको थियो।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा घाइते शिक्षक रगतले लतपतिएको भुइँमा लडिरहेको देखिन्छ। आक्रमण कसले र किन गरायो भन्ने बारे जानकारी आएको छैन।

रिपोर्टका अनुसार भिडियो चीनको वेशान पार्कको हो। अमेरिकी विदेश मन्त्रालयले यस विषयमा जानकारी प्राप्त भएको र त्यसको निगरानी गरिरहेको जनाएको छ।चीनको बेहुआ विश्वविद्यालयसँगको साझेदारी कार्यक्रमअन्तर्गत अमेरिकी शिक्षकहरू चीन पुगेका थिए।

कर्नेल कलेजले यस कार्यक्रममा कुनै पनि विद्यार्थी सहभागी नभएको बताएको छ। कलेज प्रशासनले आक्रमणपछि सबै शिक्षकको सम्पर्कमा रहेको जनाएको छ।