श्रीलङ्का हामीभन्दा बढी दबाबमा रहेको हुँदा हामीलाई जित्न सहज हुन्छ : कप्तान पौडेल

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले भोलिको खेलका लागि हामी पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्।

आईसिसी टी–२० विश्वकप अन्तर्गत भोलि हुने श्रीलङ्काविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भोलिको खेलमा नेपालले जित हात पार्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘श्रीलङ्का टी–२० विश्वकप क्रिकेट विजेता टोली हो। हामीभन्दा निकै अनुभवी टीम पनि हो। उसँग राम्रो स्पिनर पनि छ। तर, जारी सिजनमा उसको प्रदर्शन राम्रो छैन र हामीभन्दा बढी दबाबमा रहेको हुँदा हामीलाई सहज हुने र नेपालले पहिलो जित हासिल गर्छ।’

नेपाल पहिलो खेलमा नेदरल्यान्डस्सँग पराजित भएपनि भोलिको खेलमा हामी आफ्नो पहिलो जित निकाल्नका लागि तयार रहेको उनले बताए।

‘पछिल्लो एक महिनादेखि गरेको तयारी र टीमको हौसलालाई बढाउँदै हामी म्याच जित्छौं’ उनले भने, ‘अङ्क तालिकामा हामीभन्दा पनि तल श्रीलङ्का रहेको हुँदा ऊ बढी तनावमा भएको कुरालाई फाइदाको रुपमा उठाउँदै हामी जित्छौं।’

उनले एसोसिएट देशले टेस्ट टोलीलाई पराजित गर्दा नेपाली टोलीलाई पनि प्रेरणा मिलेको बताउँदै जारी विश्वकपमा एसोसिएट देशले टेस्ट प्लेइङ देशलाई पराजित गर्नु हाम्रा लागि उत्प्रेरणा रहेको उल्लेख गरे।

खेल र मैदानको अवस्था हेरेर श्रीलङ्काविरूद्धको खेलमा टोली चयन हुने उनले बताए।भोलिको खेलमा नेपाली टोलीमा १४ खेलाडी मात्र रहने भन्दै उनले हाम्रो लागि पनि भोलिको खेल जित्नै पर्ने दबाबलाई ध्यानमा राखी जित निकाल्ने प्रयास गर्ने बताए।

उनले टीमका खेलाडीमाथि विश्वास गर्नु निकै महत्त्वपूर्ण रहेको हुँदा एक अर्कालाई विश्वास गर्दै हामी भोलिको खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।