वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत

 नेपाल राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ ।

त्यसैगरी समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षा ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ ।

वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना ती क्षेत्रको मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत थियो ।