गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।

असार १ गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएकाले मुख्यमन्त्री पाण्डेले त्यसअघि नै विश्वासको मत लिन लागेका हुन् ।नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई र एकजना स्वतन्त्र सांसद गरी ६० सदस्य छन् ।

पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरे पनि अझै एक सांसदको आवश्यक पर्दछ । यो अवस्थामा पाण्डेले प्रदेशसभामा सहजै विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून देखिन्छ ।