मधेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरियो

मधेश सरकारमा सहभागी एकीकृत समाजवादीका दुवै मन्त्रीले राजीनामा दिएका छन्। एकीकृत समाजवादीबाट बेची लुङेली श्रम तथा यातायातमन्त्री र गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए।

सत्तारुढ गठबन्धनले नयाँ सरकार बनाउने भएपछि आफूहरूले राजीनामा दिएको न्यापौनेले बताए। “हामी दुवै जनाले मन्त्रीबाट राजीनामा दिएका छौं,” उनले भने, “सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छौं।”

सत्तारुढ गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीबीच नयाँ सरकार बनाउने सहमति भएको थियो। तीनै पार्टीबीच जनमतलाई मुख्यमन्त्री दिने पनि तय भएको थियो।

यसमा एकीकृत समाजवादी सामेल भएको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधवकुमार नेपालसँग भेटेर छलफल गरेपछि एकीकृत समाजवादी पनि सहमत भएको हो।

एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने भएका छन्। उनलाई नेपाली कांग्रेसले मात्रै समर्थन गर्ने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले निर्णय गर्न बाँकी नै छ। मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।

प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक-एक सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
https://www.himalkhabar.com/news/141834?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news