सबै पालिकाहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यकः श्रममन्त्री अर्याल

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधवारदेखि टुँडिखेल जारी रहेको सीप मेलाको बुधवार श्रममन्त्री अर्यालले अवलोकन गरेका हुन् । उनले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग मन्त्री अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका मेलाहरु आयोजना गर्नुपर्ने बताए ।

उनले ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातारण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको उल्लेख गरे । काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनकाे भनाइ छ ।

मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको उल्लेख गरे । उनले महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए ।

मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको जानकारी दिए । मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजिमा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको बताए । 

उनले संघीयतामा सरकारले गर्ने हरेक कामहरु प्रदेशसहित स्थानीय तहहरुमा पुग्न आवश्यक रहेको उल्लेख गरे । महानगरले सीप सिकाएका श्रमिकहरुलाई श्रमाधान मेलामा रोजगारीको अवसर दिने वातावरण बन्नसक्ने उनकाे भनाइ छ ।

महानगरले २०८१ सालमा २ हजार ८१ जनालाई रोजगारी दिने उद्देश्यले सीप मेला गरिरहेको छ । मेलाको उद्देश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजना रहेको छ ।