धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति

आइतबार साँझ काभ्रेको धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति भएको छ। 

धुलिखेल नगरपालिका १० सारदा बतासे निवासी लक्ष्मी केसी र सोही ठाउँका सुवर्ण केसीको घरमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

चट्याङबाट लक्ष्मीको दुई तल्ले पक्की घरको छतको ढलान तीन ठाउँमा  प्वाल पारेको प्रहरीले जनाएको छ। चट्याङले घरको कोठाको गारोसमेत भत्किएको छ। 

चट्याङबाट बिजुलीको मिटर बक्स, फ्रिज, सिलिङ फ्यानसहितका विद्युतीय उपकरणमा क्षति भएको प्रहरीले जनाएको छ। चट्याङले लक्ष्मीको घरमा झण्डै पाँच लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

त्यसैगरी सुबर्ण केसीको पक्की घरको छतसमेत चट्याङले प्वाल परेको छ। 

टीभी, बिजुलीको मिटरसहितका विद्युतीय उपकरण जल्दा उनको पनि झण्डै ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताए। चट्याङबाट मानवीय र पशुचौपायामा भने क्षति भएको छैन।