दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका हवल्दारसहित तीन जना घाइते

दाङमा बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका हवल्दारसहित तीन जना घाइते भएका छन्।

घोराही–लमही सडक खण्ड अन्तरगत घोराहीबाट लमही जाँदै गरेको ना ४ ख ५५३५ नम्बरको बसले आइतबार साँझ ६ बजे घोराही उपमहानगरपालिका ३ मसोटको ओरालोमा बा ८९ प २४८६ र रा ५ प ९७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लका अनुसार पछाडिबाट बसले ठक्कर दिएपछि दुबै मोटरसाइकल अगाडि गुडिरहेको रा १ ख १९२६ नम्बरको बसको पछाडिको भागमा ठोक्किएको थियो।

दुर्घटनामा परी दाङको लमही नगरपालिका–४ घर भइ प्यूठानमा कार्यरत ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार पुनिराम चौधरी र उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही ठाउँका २६ वर्षीय प्रवेशकुमार चौधरी र अर्को मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय पंकज चौधरी घाइते भएका छन्।

डिएसपी मल्लका अनुसार सशस्त्र प्रहरीका हवल्दारलाई टाउकोमा चोट लागेको छ। उनीसहित तीनै जनाको राप्ती स्वास्थ्य ‍विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

प्रवेश र पंकज भने बोल्न सक्ने अवस्थामा छन्।

ठक्कर दिने बससहित चालक फरार छन्। उनको खोजी भइरहेको डिएसपी मल्लले जानकारी दिए। अर्का बसका चालक र सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।