दुई शिक्षकलाई ‘रोटरी क्लब कान्तिपुर–सुशीला किरण प्याकुर्याल’ पुरस्कार

काठमाडौँ, २ जेठः रोटरी क्लब अफ कान्तिपुर काठमाडौँले आज आफ्नो २४औँ स्थापना दिवसका अवसरमा नेपालका प्राथमिक तहका विद्यार्थीको समग्र विकास र समृद्धिमा विशिष्ट योगदान पु¥याउनु हुने दुई शिक्षकलाई ‘रोटरी क्लब कान्तिपुर–सुशीला किरण प्याकुर्याल’ पुरस्कारबाट सम्मान गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । 

क्लबले यहाँ आज एक कार्यक्रमको आयोजना गरी यस वर्ष प्राथमिकस्तरका बालबालिकाको समग्र विकासमा उत्कृष्ट योगदान गरेबापत कन्काली माध्यमिक विद्यालय, चन्द्रागिरि–१३ काठमाडौँमा कार्यरत शिक्षिका कल्पना जोशी र सुन्दरादेवी आधारभूत विद्यालय, विदुर–७, तुप्चे, नुवाकोटमा कार्यरत शिक्षक विजय बोगटीलाई पुरस्कृत गरेको हो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोजुले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

रोटरी क्लब अफ कान्तिपुर र  सो क्लबका पूर्वअध्यक्ष किरणनाथ प्याकुर्याल तथा उहाँकी धर्मपत्नी सुशीला प्याकुर्यालको विशेष सक्रियतामा यसै वर्ष स्थापित अक्षय कोषअन्तर्गत सो पुरस्कारका लागि काठमाडौँ उपत्यकाभित्रका सामुदायिक विद्यालय तथा रोटरी क्लब कान्तिपुर–उर्मिला व्यास छात्रवृत्तिमा आबद्ध विद्यालयलाई समावेश गरिएको थियो । 

यस पुरस्कारअन्तर्गत प्राथमिक तहमा कार्यरत सर्वोत्कृष्ट एक शिक्षक र एक शिक्षिकालाई प्रोत्साहनस्वरूप प्रत्येक वर्ष उत्कृष्टताको प्रमाणपत्रका साथै रु एक लाख नगदले सम्मानित गरिँदै आइएको छ । रोटरी अफ क्लब कान्तिपुरले  शिक्षा, स्वास्थ्यसमेत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको क्लबका अध्यक्ष शरदराज विष्टले जानकारी दिनुभयो ।