चेक लिएर घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने

काठमाडौँ, २ जेठः गुठीको जग्गा हिनामिना र सेवाग्राहीबाट घुस लेनदेनमा संलग्न गुठी संस्थान, जनकपुरका कर्मचारी र बिचौलिया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गुठी संस्थान, जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, पूर्वसहायक प्रशासक मनोजकुमार शर्मा, पूर्ववरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, पूर्वकार्यालय प्रमुख राजबाबु पाण्डे र बिचौलिया सुमनकान्त ठाकुरलाई दोषी ठहर गरेको हो।

मोहियानी हकको जग्गाको मुआब्जा लिनदिन सहयोग गरेवापत राजबाबु पाण्डेले १९ लाख ३० हजार र मनोजकुमार आचार्यले ६ लाख ५० हजार चेकमार्फत लिएको पुष्टि भएको अदालतको ठहर छ।

मोहियानी हकभागको मुआब्जावापत प्राप्त रकममध्येबाट बिचौलिया सुमनकान्त ठाकुरले गायत्रीदेवी जयसवालबाट ५६ लाख १ हजार ६६७ र शत्रुधन जयसवालबाट ७ लाख ३५ हजार गरी जम्मा ६३ लाख ३६ हजार ६६७ लिएका थिए। त्यो रकमको केही भाग उनले कर्मचारीहरूलाई बाँडेका थिए।

मनोजकुमार आचार्यलाई १ वर्ष ६ महिना कैद, ६ लाख ५० हजार जरिवाना र त्यति नै बिगो रकम असुल हुने गरी अदालतले सजाय तोकेको छ।