सभामुख घिमिरे र प्रधानमन्त्री दाहालसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । घिमिरेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग संसद् अवरोधका विषयमा छलफल गरेका हुन् ।

सभामुख घिमिरेले मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न दिन ध्यानाकर्षष गराएका थिए ।

तर, प्रतिपक्षीको अवरोधका कारण धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन । यस विषयलाई सभामुखले गम्भीर रूपमा लिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

कांग्रेसको अवरोधपछि सभामुखले संसद् बैठक भोलिसम्मका लागि स्थगित गरेका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको माग गरेको छ ।

आफुहरुको माग पुरा नभएसम्म सदन चल्न नदिने उसले अडान लिँदै भएको छ । यसअघिको हिउँदे अधिवेशन पनि यसै विषयमा कांग्रेसको अवरोधकै कारण समाप्त गरिएको थियो ।