‘गङ्गाजमुना तीनसुर पदमार्ग’ प्रवर्द्धन गरिँदै

 धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक कार्य अगाडि बढाइएको छ ।  

    गङ्गाजमुना  र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मको काम अगाडि बढाइएको हो ।

    गोरखा जिल्लाको आरुघाट गाउँपालिका-४ आर्खेत बजारदेखि बुढाथुम-बाथलडाँडा-लामोपुल-बसेरी-भैँसे-तीनसुरे-पोखराडाँडा-री-गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको आज बुढाथुममा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गर्नुभयो ।

    उहाँले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्नका लागि उक्त पदमार्गलाई अगाडि बढाइएको बताउनुभयो । यसअघि धादिङको रुविभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवर्द्धनका लागि गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो ।

    सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी, पदमार्ग विकास तथा प्रवर्द्धन योजना तयारी, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण,  पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायत काम गर्ने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले बताउनुभयो ।

    पछिल्लो समय स्थानीय तहको गठनसँगै स्थानीय तहले विकासका नाममा जथाभाबी मोटरबाटो खन्दा कतिपय ‘ट्रेकिङ ट्रायल’हरू मासिँदै गएको भन्दै टानले नयाँ गन्तव्यको खोजी गरी प्रवर्द्धन गर्दै आएको छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ ।  

    नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा निकै सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो ।

    पूर्वपर्यटन व्यवसायीसमेत रहनुभएका वडाअध्यक्ष ढकालले स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माणका लागि  उक्त पदमार्गले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।गङ्गाजमुना गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष रबिन अधिकारीले गङ्गाजमुनाको आर्थिक विकासमा उक्त पदमार्गले सहयोग पुग्ने बताउनुभयो । सात दिनको उक्त पदमार्ग समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ ।