६ सयभन्दा बढी बाघको चोरीसिकारी गर्ने कुञ्जोक सम्पत्ति शुद्धिकरणमा दोषी पाइए

काठमाडौं१६ वैशाख, कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दोषी ठहर गरेको छ । आइतबार विशेष अदालतले एक वर्ष अघिको मुद्दामा कसूर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला आएको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १६ जेठ २०८० मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

विशेषका अनुसार तामाङले वन्यजन्तुको अखेटोपहार ओसारपसार समेत गरी गैरकानूनी रुपमा आर्जन गरेका छन् । प्राप्त प्रमाणबाट उनले सात करोड १४ लाख रुपैयाँभन्दा बढी व्यय तथा आर्जन गरेको भेटिएको थियो ।जसमध्ये ६ करोड ४७ लाख रुपैयाँ वैध आय भएको विशेषको ठहर छ । 

स्रोत पुष्टि हुन नसकेको ६७ लाख ६५ हजार रुपैयाँ कसूरबाट आर्जित रहेको इजलासको निष्कर्ष छ । विशेषले उनलाई एकदेखि चार वर्षसम्म सजाय हुनसक्ने जनाएको छ । सजाय निर्धारणको पेसी २७ वैशाखका लागि तोकिएको हो । 

कुञ्जोक यस अघि वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर भइसकेका छन् । उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना हुने सुनाएको थियो । ०६२ सालकै घटनामा उनी दोषी पाइएका थिए । 

लाङटाङ राष्ट्रिय निकुञ्जमा उनले वन्यजन्तु मार्ने तथा तस्करी गर्ने गरेको अनुसन्धानमा देखिएको थियो । उनीसमेतको संलग्नतामा ६ सयभन्दा बढी बाघको चोरीसिकारी भएको पाइएको छ । भारतसमेतका देशले समेत उनलाई खोज्दै आएको थियो ।