इन्जिनियरिङ कलेजमा अनियमितता सञ्चालक न्यौपानेलाई ३ वर्ष कैद, २५ करोडभन्दा बढी जरिवाना

  काठ्माडौं १६ वैशाख,  भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजाय हुने भएको छ। आइतबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसूरमा उनलाई सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसमेत नौ जनाउपर मुद्दा दायर गरेकोमा उनी मात्र दोषी ठहर भएका थिए । गत २५ चैतमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले उनीमाथि कसूर कायम गर्दै सजाय सुनाउन पेसी तोकेको थियो । 

न्यौपानेको उमेर हेरेर उनलाई कम सजाय गरिएको हो । इजलासका अनुसार ‘प्रतिवादीको उमेर, अवस्था एवम् स्वास्थ्य स्थिति, निजको आर्थिक, सामाजिक, सांस्कृतिक पृष्टभूमि, पारिवारिक संख्या, कसूर गरेको अवस्था र परिस्थितिका साथै सजायशास्त्रको दृष्टिकोणबाट विचार गरी’ सजाय निर्धारण गरिएको हो । 

कैदका साथै न्यौपानेलाई बिगोको दोब्बर जरिवाना हुने भएको छ । विशेषले कसूर कायम गर्दा उनीमाथि १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी बिगो निर्धारण गरेको थियो । 

यसै मुद्दाका प्रतिवादीहरु रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दिक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायलाई भने विशेषले सफाइ दिएको थियो । 

सञ्चालक न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पुष्टि भएको थियो । जसपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २७ माघ २०७८ मा मुद्दा दायर गरेको थियो । 

उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधासमेत दिएको तथा आयमा करसमेत नतिरेको भेटिएपछि विशेषले सजाय सुनाएको हो ।