लामिछानेको मुद्दा न्यायाधीशद्वय चन्द र ज्ञवालीकाे इजलासमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज न्यायाधीशद्वय मा.न्या. श्री धीर बहादुर चन्द र मा.न्या. श्री चन्द्रमणि ज्ञवालीकाे इजलासमा तोकिएको छ। गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो। 

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम् सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ। दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। 

त्यस्तै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ।