नेपालमा कोरोना संक्रमण नियन्त्रण तर्फ गएकै हो त ?

काठमाडौं । पहिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी देखिएको छ । दिनमै ५—६ हजार संख्यामा संक्रमित बढी रहेको बेलामा कसरी एक्कासी घट्न गयो भन्ने बारेमा धेरैले चासो लिएका छन् । वास्तबमै कोरोना संक्रमितको संख्या घट्नु त राम्रै कुरा हो ।तर, यहाँ संख्या कम हुनुको पछाडिको कारणमा कम मात्रामा परिक्षण भएर हो या साच्चिकै घटेको हो भन्ने बारेमा थाहा पाउँनु जरुरी छ । मंसिर लागे पछि मुलुकमा कोरोना संक्रमण दर घटे जस्तो देखिए पनि मृत्यु दर भने दिनहुँ बढी रहेको छ।

संक्रमण दर कम देखिनुको कारण विदेश जाने, कार्यालय जाने, परीक्षण प्रतिवेदन चाहिने व्यक्तिहरुले मात्र परीक्षण गर्ने गरेको देखिन्छ । पछिल्लो समय पीसीआर परीक्षण १० हजार भन्दा मुनि छ । जसका कारण संक्रमण प्रतिशतमा कमी देखिएको विज्ञहरुको भनाई छ ।हाल शंकास्पद व्यक्तिले परीक्षण गराउनै छाडेका छन् भने साधारण लक्षण भएकाले त परीक्षण नै गराउँदैनन् । कन्ट्रयाक्ट टे«सिङ वा संक्रमितको सम्पर्कको मान्छेले परीक्षण गराएको भए संक्रमण दर बढ्ने थियो ।एक सातायता कोरोनाको देखिने औसत संक्रमण दर १५।५२ प्रतिशत देखिएको छ ।

यदी वास्तबमै संक्रमण दर ८ प्रतिशतभन्दा तल झरे नियन्त्रणतर्फ गएको मान्न सकिने बताइएको छ। अहिले विश्वमा कारोनाविरुद्धका खोपहरु बन्ने क्रमसँगै विभिन्न देशहरुमा त लगाउन पनि थालिसकिएको छ। नेपाल पनि कोरोना खोपको खरिदका लागि तयारी अवस्थामा रहेकोछ ।

दुई ठूला छिमेकी देश भारत र चीनकोबीचमा रहेको नेपालीको जिन, रहनसहन,खानपान,वातावरण मिल्दोजुल्दो भएकाले यहाँ उपयोग गरिने कोरोनाविरुद्धको खोप युरोप अमेरिकामा उपयोग हुनेको दाँजोमा बढी उपयुक्त हुने विश्वास गरिएको छ।कोरोना संक्रमित देशहरु मध्ये ३८ औ स्थानमा रहेको नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनामा कोरोना परीक्षण भएको छ । जसमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ हुँदा २ लाख २५ हजार ८०५ जना कोरोनामुक्त भएका छन् ।कोरोनाका कारण ज्यान गुमाउनेको संख्या करिब १६ सय पुगेको छ। त्यस्तै हाल १३ हजार ५८२ जना आइशोसेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।