ढोलाहिटी हत्या प्रकरण : ३ जनालाई धरौटीमा छाड्न आदेश , २ जनालाई जेल चलान

गत फागू पूर्णिमाको राति ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा २ युवकको हत्या भएको घटनाका आरोपित २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बिहीबार ललितपुर जिल्ला अदालतले मुद्दा चलाइएका ५ जनामध्ये ढोलाहिटीको डी–पोपिना होटलका सञ्चालक खोटाङका ३१ वर्षीय विजय राई र तेह्रथुमका ३२ वर्षीय राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

अदालतले भोजपुरका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र खोटाङका ३० वर्षीय सुलभ राई र काठमाडौंको गोकर्णेश्वर घर भई ललितपुर सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राईलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशाल र सुलभलाई ५÷५ लाख धरौटी तोकिएको छ भने छेङ्वीहाङलाई ७ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने २ समूहबीच झडप हुँदा २ युवक मारिएका थिए । जसमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राई र सुनसरी घर भएका ३० वर्षीय पूजन राईको हत्या भएको थियो ।