किसानको मल छुटाइदिने भन्दै आठ हजार घूस मागेको अभियोग लागेका असइलाई सफाइ

विशेष अदालतले बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) लाई सफाइ दिएको छ । बिहीबार विशेषले गजेन्द्र सिंह भण्डारीलाई सफाइ दिएको हो ।  विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा भण्डारीलाई सफाइ दिएको हो । भण्डारीविरुद्ध चार महिना अघि मुद्दा दायर भएको थियो । 

कृषि प्रयोजनका लागि भारतबाट ल्याउँदै गरेको युरिया मलसहित मोटरसाइकल छुटाइदिने प्रयोजनका लागि घूस माग गरेको अभियोग भण्डारीमाथि थियो । उनले आठ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ पुसमा उनलाई रंगेहात पक्राउ गरेको थियो । जसपछि १४ माघमा मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो ।