चार सिटे माधव नेपालको फुर्ति, राजनीतिक नैतिकता र संस्कार बिर्सेर जताजतै खोँचे

काठमाडाैँ। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीसँग ४ सिट मात्र छन् । तर, उसले मुख्यमन्त्री नपाउँदासम्म खोँचे थापिरह्यो । पहिलो दल कांग्रेस, दोस्रो माओवादी, तेस्रो एमाले र चौथो नागरिक उन्मुक्ति पार्टीलाई छाडेर पाँचौँ र नाम मात्रको पार्टीले मुख्यमन्त्री नपाउँदासम्म कयौँ दिनसम्म राजनीतिक गतिरोध पैदा गर्‍यो । 

केन्द्रमा एउटा गठबन्धनसँग सत्ताको स्वाद लिइरहेकै बेला प्रदेशमा विपक्षी कांग्रेससँग मिलेर अर्कै प्रस्ताव गर्नसमेत पछि परेन, नियम, कानुन, नैतिकता, संसदीय संस्कार र संविधानलाई रद्दीको टोकरीमा हालेर । 

त्यही पार्टीको हर्कतले गर्दा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सकेनन् । तीन दिनमा प्रक्रिया रद्द गरेर फेरि सरकार गठनको आह्वान गर्नुपर्ने भयो । एकीकृत समाजवादीले फेरि कांग्रेसको साथ छाड्यो । एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री पाएपछि रातारात कित्ता कित्ता फेर्न तयार भयो । दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका त छन् तर माधव नेपाल कुन दिन देउवासँग मिल्छन् र यो सरकार पनि गर्ल्यामगुर्लुम ढल्छ भन्नेचाहिँ यकिन छैन । 

यता केन्द्रमा हेरौँ !
२१ फागुनमा बनेको नयाँ सत्ता समीकरणमा सहभागी हुँदै नेकपा एकीकृत समाजवादीले फागुन २३ मै २ मन्त्रीलाई सरकारमा पठायो । भानुभक्त जोशीले सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रीको शपथ लिए । 

तर, त्यसको एक हप्ता नबित्दै २८ फागुनमा माधव नेपालले अर्को अत्तो थापे । आफूसँग लिखित सहमति गरे मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने र राष्ट्रिय सभा अध्यक्षको चुनावमा सघाउने।दबाबमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्तारुढ दलहरू एकीकृत समाजवादीको समेत नाम राखेर बालुवाटारमा ७ बुँदे सहमति गर्न बाध्य भए । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच २१ फागुनमै ८ बुँदे सहमति भएको थियो ।

नयाँ सहमति भएपछि मात्र माधव नेपाल पक्षका सांसदले फागुन ३० मा प्रचण्डलाई विश्वासको मत दिएका थिए ।जबकि प्रचण्ड र माधव नेपालको सहकार्य एमाले फुटाउँदादेखिकै अनवरत थियो । अहिले आएर तिनै प्रचण्डसँग च्याँखे थाप्नुपर्ने थिएन ।

कि त केन्द्रमा मन्त्री नखानु । विपक्षमै बस्छौं भन्न सक्नु । देउवाले आएर प्रधानमन्त्री दिन्छु भन्दा फागुन २१ मै प्रधानमन्त्री बन्ने आँट गर्नु । यो गठबन्धनमै नबस्नु । राजनीतिमा नैतिकता र अडानको पनि अर्थ हुन्छ । तर, यता मन्त्री खाइसकेको एक हप्तापछि फेरि विश्वासको मत दिन्नँ भन्नेजस्तो अराजक र षड्यन्त्रकारी सोच अर्को के हुन्छ ? अझ सुदूरपश्चिममा अर्कोपटक मुख्यमन्त्री दिन्छु भन्दाभन्दै मलाई त्यही केटी चाहिन्छ भन्ने शैलीमा जसरी बोल्नु र व्यवहार गर्नु अराजकताको पराकाष्ठा हो ।

 यो निम्नस्तरको राजनीतिले माधव नेपालको जीवनकै उत्तरार्धलाई खल्लो बनाउँदै छ । भएका समर्थक र शुभेच्छुक पनि घटाउँदै छ । स्वार्थी र लोभीपापीको झुण्ड बोकेर उनी कहिलेसम्म यस खालको निम्सरो गतिविधिको नाइके भएर हिँड्न सक्छन् ? एक दिन र एक छिन भए पनि प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने उनको आकांक्षा होला । तर यही कारण उनी सबैको नजरमा गिर्ने अवस्था आउँदै छ । उनकै पार्टी विभाजनको मुखमा पुग्दै छ ।