कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार आउँदै

काठमाडौँ, ९ वैशाख कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले राससलाई बताउनुभयो ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभयो ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ भ्रमणका अवसरमा उहाँले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जानएको छ ।त्यस्तै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ ।कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ । कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।