भक्तपुरमा चितुवाले आक्रमण गर्दा १४ वर्षीया किशोरी गम्भीर घाइते

काठमाडाै। भक्तपुरमा चितुवाले आक्रमण गर्दा १४ वर्षीया किशोरी गम्भीर घाइते भएकी छन्।

शनिबार दिउँसो पौने ४ बजे चाँगुनारायण नगरपालिका- ४ साङदहमा एक किशोरीलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

चितुवाको आक्रमणबाट सूर्यविनायक नगरपालिका वडा नम्बर- ९ पलासे घर भइ हाल साङदहस्थित मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतकी छोरी वर्ष १४ की चयन बस्नेत घाइते भएकी परिसरका डीएसपी राजन कार्कीले जानकारी दिए। 

मामा घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा नजिकै रहेको झाडिबाट आएको चितुवाले एक्कासी उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

किशोरीलाई चाँगुनारायण नगर अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि टेकु अस्पताल काठमाडौँ रेफर गरिएको छ।