लमजुङमा चट्याङ लागेर एकै ठाउँमा नौवटा भैँसी मरे

काठमाडाैँ। लमजुङमा चट्याङ लागेर एकै ठाउँमा नौवटा भैँसी मरेका छन्। 

मर्स्याङ्दी गाउँपालिका ५ तल्लो चिप्लाको लेकमा चट्याङ पर्दा स्थानीय एक किसानले पालेका ९ वटा भैँसी मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाइँले जानकारी दिए। 

शनिबार दिउँसो अढाई बजे चट्याङ पर्दा स्थानीय कालबहादुर गुरुङले पालेका  भैँसी मरेका हुन्। जंगलमा चराएर गोठतर्फ फर्कने क्रममा एक्कासी चट्याङ पर्दा बाटोमा हिँडिरहेका भैँसी भकाभक ढलेका हुन्। 

‘उहाँले १४ वटा भैँसी चराएर गोठतिर फर्काउँदै गर्दा घटना भएको हो,’ इन्सपेक्टर चपाईंले नेपालखबरसँग भने, ‘पाँचवटा लैना र चारवटा पाडापाडी गरेर नौ वटा भैँसी एकै ठाउँमा मरेछन्। बाँकी ५ वटा भैँसी भने चट्याङबाट जोगिएछन्।’

एउटै बथानमा नभएर अलि अगाडि भएका कारण पाँचवटा भैँसी भने चट्याङबाट जोगिएका उनले जानकारी दिए। चट्याङले गोठै रित्तो हुनेगरी भैँसी मरेपछि गुरुङ परिवार चिन्तामा छन्। भैँसी मर्दा गुरुङको करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।