गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेट : मधेसमाथि गण्डकीको जित

काठमाडौँ, ६ वैशाख ः राजधानीमा जारी वीर गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै गण्डकीले तीन खेलमा दुई अङ्क बटुलेको छ । यसअघि गण्डकी लुम्बिनीसँग सात विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो ।

त्यस्तै पहिलो खेलमा पराजित भएको मधेसको समान तीन खेलबाट चार अंक रहेको छ । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो । आजको खेलमा मधेसले गण्डकीलाई जितको लागि एक सय तीन रनको लक्ष्य दिएको थियो । जवाफमा गण्डकीले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रन बनाएका हुन् । यसैगरी ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे । मधेसका लागि विशाल पटेलले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै  १०२ रनको योगफल बनाएको थियो । उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे । त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए ।

गण्डकीका लागि कप्तान विपीन खत्रीले चार विकेट लिँदा सुवास भण्डारीले दुई विकेट झारे । त्यस्तै कमल परियार र सन्दीप क्षेत्रीले समान एक एक विकेट लिए ।