रासस स्थानीय सरकारसँग सहकार्य गर्न तयार छः अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस स्थानीय सरकारहरुसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । 

आज यहाँको बोदे बर्साइन नगरपालिका आइपुग्नुभएका अध्यक्ष झा र सो नगरपालिकाका प्रमुख आतेशकुमार सिंहबीच भएको कुराकानीका क्रममा रासस र स्थानीय सरकारबीच सहकार्य गर्न सकिने बताउनुभएको हो । 

    सो अवसरमा नगर प्रमुख सिंहले नगरपालिका राससको विकासका लागि सक्दो सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । 

उहाँले राससले जनतालाई सुसूचित गराउन निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो । सङ्घीयता कार्यान्वयनको सन्दर्भमा राससले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै प्रमुख सिंहले रासससँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । 

त्यस अवसरमा अध्यक्ष झाले राससले स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको जानकारी दिनुभएको थियो । राससले विभिन्न नगरपालिकासँगको सहकार्यमा मुलुकका राष्ट्रिय भाषामा समाचार सम्प्रेषण गर्ने गरिरहेको छ ।