साउदी अरेबियासँगको चौथो खेलमा नेपाल ६ विकेटले विजयी

नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो ।

ओमनमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो। वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा साउदी अरबले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि गुल्सन झाले ३२ रन बनाए। उनले १९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ र रोहित पौडेलले १६ रन बनाए। साउदी अरबका लागि इस्तिक अहमदले दुई, उस्मान नजीब र वाजी उल हसनले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको साउदी अरबले ६ विकेटको क्षतिमा ७२ रन बनाएको हो। साउदी अरबका लागि अब्दुल वाहीदले ३७ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि करण केसी र अविनाश बोहराले दुई-दुई तथा ललित राजवंशी र प्रतिश जीसीले एक-एक विकेट लिए। नेपालले समूह चरणका चारै खेल जितेर आठ अंक जोडेको छ। समूह ‘ए’ को शीर्षस्थानमा रहेर नेपालले सेमिफाइनल खेल्नेछ। समूह ‘ए’ मा रहेका हङकङ र कतारको चार-चार तथा साउदी अरब र मलेशियाको दुई-दुई अंक छ। त्यस्तै, समूह ‘बी’ को ओमन ६ अंक सहित शीर्षस्थानमा छ। कुवेत र यूएईको चार-चार तथा बहराइनको दुई अंक छ। कम्बोडियाले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।