मृत्यु भएकी भीमाको शव अझै अस्पतालमा, अस्पतालले कुनै क्षतिपूर्ति दिन नसक्ने

कर्णाली प्रदेश अस्पतालमा अप्रेसनको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव अझै अस्पतालमा रहेको छ ।

पाठेघर सफा गर्ने क्रममा डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरूले अझै शव बुझ्न नमानेपछि शव अस्पतालमै रहेको हो । भीमाको मृत्यु बिहीबार दिउँसो तीन बजे भएको थियो । भीमाको ७ महिने छोरी छिन् । सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीले नै मृत्यु भएको भन्दै आफन्तहरूले क्षतिपूर्तिको माग गरेका छन् । 

उनका जेठाजु हर्कबहादुर बलामीका अनुसार ७ महिने शिशुको भविष्यको ग्यारेन्टी हुनुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने माग आफूहरूको रहे पनि अस्पतालले सुनुवाइ नगरको बताए । आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै सोमबारसम्म आन्दोलन गरिरहेका थिए । 

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय सुर्खेतमा अस्पताल प्रशासन, सुरक्षा निकाय, पीडित परिवार र सामाजिक विकास मन्त्रालयका सचिव समेत सहभागी भई वृहत् छलफल भएको थियो । तर, उक्त छलफलमा अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पतालले कुनै क्षतिपूर्ति दिन नसक्ने बताएका थिए । ‘हामीसँग केही स्रोत पनि हुँदैन, यो सरकारी अस्पताल हो,’खड्काले त्यहाँ भने ।  छलफलबाट कुनै टुङ्गो नलागेपछि शव अझै पनि अस्पतालमै रहेको छ ।