कांग्रेस जति आक्रामक, रवि उति शक्तिशाली

नेपाली कांग्रेस यतिखेर सम्पूर्ण शक्तिका साथ रवि लामिछानेविरूद्ध खनिएको छ । मानौँ, यो देशको सारा समस्या रविले निम्त्याएका हुन् । नेपाली कांग्रेस सत्तामा छँदासम्म यहाँ रामराज्य थियो । रवि आएपछि सारा भताभुंग भयो ।

कांग्रेसले रविलाई तारो बनाइरहँदा यसको फाइदा कसलाई भइरहेको छ ? आमनागरिकले रविको कुरा बढी पत्याउँछन् कि कांग्रेसको ? के रविमाथि प्रश्न गर्ने नैतिक धरातल कांग्रेससँग छ ? 
राजनीतिमा गरिने वक्तव्यबाजीका अनेक रूप र आयाम हुन्छन् । नियत र नियति हुन्छन् । तर, जनताले त्यस्ता वक्तव्य मात्र पत्याउँछन्, जोसँग नैतिक अख्तियारी हुन्छ । दोगला चरित्र छ भने त्यहाँ नागरिकले शंका गर्छन् र गर्नैपर्छ । 

नेपाली कांग्रेस सत्तामा हुँदासम्म रविका विषयमा उठेका आरोप र आशंकाबारे कांग्रेसले एक शब्द उच्चारण गरेन । सहकारी पीडितका वेदना पनि देखेको नदेख्यै र सुनेको नसुन्यै गरेको थियो । उतिखेर उसलाई न संसदीय समिति चाहियो । न त सरकारले नै छानबिन गर्‍यो । 

अझ प्रचण्डले एमाले र रास्वपाको टेको समाउँदा त्यही कांग्रेस रविलाई प्रधानमन्त्री तयार भएको थियो । उसले प्रधानमन्त्री खानका लागि दिएको अवसर समेत लत्याएर जब रवि एमाले र माओवादीसँग गठबन्धन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा चित्त बुझाउन पुगे, तब कांग्रेसको निदहराम भयो । के निहुँ पाऊँ र कनिका बुकाऊँ भन्ने शैलीमा कांग्रेस अहिले संसद भवनको खाँबो चिथोर्न लागिपरेको छ ।

कांग्रेसले अहिले जति धेरै आक्रमण गरिरहेको छ, यसले रविलाई झनै शक्तिशाली बनाइरहेको छ । रविप्रति झन् सहानुभूति बढेको छ । कांग्रेस उसै पनि नेपाली समाजमा असान्दर्भिक बन्दै गएको छ । उसले जनताका पीरमर्कालाई मुद्दा बनाउन छाडिसक्यो । सत्ता र शक्तिको आडमा निजी समृद्धि कांग्रेसको एक मात्र लक्ष्य बन्न पुगेको छ । कांग्रेसको नेतृत्वमा देशका ठेकापट्टामा त घोटाला भएकै थिए । आफ्ना देशका नागरिकलाई गैरनागरिक बनाएर सरकारी संयन्त्रको दुरुपयोग गरी नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कारखाना चलाएको घटनाले यो पार्टी जनताको नजरबाट नराम्रोसँग गिर्न पुगेको छ । 

अझ यस घटनाको लहरो तान्दै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाकै शयनकक्षसम्म पुगेको छ । संसारमाझ नेपाल र नेपालीको स्वाभिमान गिराउने यस्तो निकृष्ट कामको अनुसन्धान गर्ने अधिकारीहरू खेदिएका छन् । ती अधिकारीहरूलाई पुनःस्थापित गर्न खोज्दा देउवाको परिवारमा भागाभाग चलेको छ । 

देउवाको परिवार र उनका वरिपरि रहेर शक्तिको तर मार्नेहरूको सुरक्षाका लागि नै रविमाथि कांग्रेस आक्रामक बनेको भन्ने जगजाहेर छ । यदि कुनै इमानदार कांग्रेसीको त्यो नियत छैन भने पनि जनताले यही बुझेका छन् । सहकारी प्रकरणका नाममा कांग्रेसले रविमाथि जसरी औँला उठाइरहेको छ, त्यो औँला उठाउने हात सफा छैन । त्यसैले कांग्रेस सबैभन्दा पहिला आफैभित्र शुद्धीकरण हुनु जरूरी छ । आफ्नो धरातल सङ्लो भए मात्र अरुमाथि औँला उठाउन सकिन्छ । कांग्रेसले अहिले जे गरिरहेको छ, त्यो भनेको अर्को चुनावमा निमिट्यान्न हुने बाटो हो । विचारमा स्खलित भइसकेपछि भएको संगठन खोक्रो हुँदै जान्छ । जनताको नजरबाट गिर्दै गएपछि सांगठनिक धरातलमा पनि पहिरो जानेछ । 

त्यसैले सबैभन्दा पहिला कांग्रेसको युवा पंक्ति होसमा आउन जरुरी छ । कांग्रेसको नाममा सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेकाहरूको सुरक्षाका लागि इमान र आदर्शमा बाँचेकाहरूले आफ्नो राजनीति तिलान्जली दिनु जरुरी छैन ।