त्रिशूली नदीमा ट्याक्सी खसेपछि बेपत्ता बनेका युवक मृत फेला

काठमाडौँ- त्रिशूली नदीमा ट्याक्सी खसेपछि बेपत्ता बनेका युवक मृत फेला परेका छन्।

गोरखा नगरपालिका-७ पौवाखेतका १८ वर्षीय विवश रोका बुधबार बिहान सवा ८ बजे फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका-५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा उनी बेपत्ता बनेका थिए।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार अरु ५ जनाको शव फेला परेको थियो।

शवलाई परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।दुर्घटनामा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।