दिक्तेल रुपाकोट मझुवागढीले जित्यो राष्ट्रपति रनिङ शिल्ड

चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, १० रजत र ६ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि उचालेको हो । 

    जिल्लाका नौँ स्थानीय तहले सहभागिता जनाएको प्रतियोगितामा नौ स्वर्ण, दुई रजत र ६ कास्य पदकसहित हलेसी तुवाचुङ नगरपालिका दोस्रो भएको छ । एक सय ११ पदकका लागि पाँच विधामा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित केपिलासगढी गाउँपालिका तेस्रो भयो । 

    प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमश ः रु १५ हजार, रु १२ हजार र रु नौ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राईलगायतले  पुरस्कार प्रदान गर्नुभयो । चार दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगितामा भलिबल, कराते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्समा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।