कर्णाली प्रदेशस्तरीय फुटबलको उपाधि जुम्लालाई

 जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ । आज भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । 

    खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले ह्याट्रिक गरे । यस्तै चौथो गोल महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा गरेका थिए । हुम्लाले उपविजेतामै चित्त बुझायो । प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यही फागुन १५ गतेदेखि सञ्चालन भएको थियो । जुम्लामा पहिलो पटक  प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए । 

    प्रतियोगितामा कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लाले सहभागिता जनाएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । आगामी २०८१ मङ्सिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रदेशस्तरीय फुटबल  प्रतियोगिता आयोजना गरिएको हो ।