क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, १७ फागुन. आम नागरिकले गुनासो, पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाईनेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । 

उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गर्नुभएपछि यसको अन्य कार्यालयहरूमा समेत विस्तार हुँदै आएको छ ।

हालसम्म देशभरका १ सय ८९ प्रहरी कार्यालयहरूमा क्यूआर कोडको विस्तार भएको छ । तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत १ वटा, बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत २ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ४ वटा, कर्णाली प्रदेश अन्तर्गत १६ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत ११६ वटाप्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ । 

तथ्याङ्क अनुसार क्यूआर कोडको व्यवस्था सबै भन्दा बढि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतमा देखिन्छ ।नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप क्यूआर कोडको व्यवस्थागरिएको हो ।

 यसलाई थप सशक्त, सेवामुखी र प्रभावकारी बनाउन परम्परागत रूपमा दिइने सेवालाई आम सेवाग्राहीहरूको सहजता र पहुँच कायम गराउन ध्यान दिनुपर्ने हुन्छ। यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम  प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको नीति अनुरूप क्यूआर कोड स्थापना गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुख थिएँ । यो सुविधा पाउँदा सेवाग्राही निकै उत्साहित भएको मेरो अनुभव छ । नागरिककै सेवामा खटिने नेपाल प्रहरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गरी कार्यान्वयन गर्न क्यूआर कोडको प्रयोग

निकै प्रभावकारी देखिन्छ । त्यसैले नेपाल प्रहरीले क्यूआर कोडको प्रयोगलाई अन्य प्रहरी कार्यालयहरूमा पनि क्रमश: विस्तार गर्दै लैजाने नीति लिएको छ ।”नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा गत असोज २५ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालय समेत मातहत कात्तिक १८ गतेदेखि, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर समेत मातहत २० वटा कार्यालयमा गत असोज ९ गते, मधेश प्रदेश प्रहरी कार्यालयमा गत असोज ३० गते, बागमती प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर २६ गतेदेखि, गण्डकी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक १५ गतेदखि, लुम्बिनी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर ५ गतेदेखि, कर्णाली प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक २४ गतेदेखि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत असोज १७ गतेदेखि क्यूआर कोड कार्यान्वयनमा आएको छ ।

नागरिकको गुनासो क्यूआर कोड मार्फत सिधै सम्बन्धित प्रहरी कार्यालय प्रमुख समक्ष पुग्ने गर्छ । जसको कारण प्राप्त विषयवस्तुको कार्यान्वयन गर्न ढिलाई हुँदैन । यसले प्रहरी सेवालाई छिटो छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शी र जिम्मेवारी बोध गराई नागरिक सम्बन्ध सुमधुर बनाउन र सुशासन कायम गर्न मदत पुग्छ ।

क्यूआर कोडको व्यवस्था पश्चात हालसम्म जम्मा १ सय ३६ वटा उजुरी प्राप्त भएका छन् । तीमध्ये १ सय १४ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा कार्यान्वयनको चरणमा रहेका छन् । तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाबाट ५९ वटा, काठमाडौं उपत्यका अन्तर्गत १४ वटा, कोशी प्रदेश अन्तर्गत ४ वटा, बागमती प्रदेश अन्तर्गत ८ वटा, गण्डकी प्रदेश अन्तर्गत १४ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ९ वटा, कर्णाली प्रदेश अन्तर्गत ४ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत २ वटा उजुरी फछर्यौट भएका छन् । क्यूआर कोड व्यवस्था भएका प्रहरी कार्यालयहरूमा सर्वसाधरणको सहजै पहुँच हुने उपयुक्त स्थानमा क्यूआर कोड स्क्यान राखिएको छ । 

यसको प्रयोगलाई प्रभावकारी बनाउन र छिटो कार्यान्वयन गर्नको लागि अनुगमन समेत गर्ने गरिएको छ । सो अनुरूप प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न ध्यान दिएको छ । 

यसका लागि नयाँ प्रविधि र उचित तालिमको व्यवस्थापनमा जोड दिएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आमनागरिक माझ पारदर्शी एवम् गुनासो सम्बोधन गर्ने लक्ष्य रहेको छ । यसले सुरक्षा प्रतिको विश्वास बढाउन, छिटो र सहज सेवा प्रदान गर्न र समयको सदुपयोग तथा विना झन्झट सेवा दिन सहयोग पुर्‍याएको छ।”

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ‘गुनासो व्यवस्थापनमा कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धी कार्यविधि, २०८०’ लागू गरेको छ । यसमा क्यूआर कोडको उद्देश्य र मापदण्ड तय गरी कार्यान्वयनमा गर्दै आएको छ । 

यस सम्बन्धमा उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना भन्नुहुन्छ, “प्रविधि मार्फत सूचनाको स्रोत बढाउनु पर्छ भन्ने उद्देश्यले क्यूआर कोड संचलान गरिएको हो । यसको विस्तार र लोकप्रियतालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाई कोशी प्रदेश प्रहरी कार्यालय अगाडि बढेको छ । क्यूआर कोड मार्फत प्राप्त उजुरीमा पूर्ण गोपनियता रहन्छ ।