सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि फागुन १६ गतेसम्म मात्र आईपीओ बिक्री खुला गर्न लागेको हो । 

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ बिक्री तथा बाँडफाँट गरिसकेको छ ।

योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  त्यस्तै सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ । 

तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ जारी गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ बिक्री गर्न अनुमति पाएको हो । 

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये बिक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

तेस्रो चरणमा बिक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरीएको छ । यी वाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

बुक विल्डिङ विधिमार्फत बिक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।