७ महिनामा ६० करोड ६१ लाख बढीको यार्चागुम्बा निर्यात

काठमडौँ। चालु आर्थिक वर्षको ७ महिनामा ६० करोड ६१ लाख बढीको यार्चागुम्बा निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार २ सय ४६ किलो यार्चागुम्बा निर्यात भएको हो।

यो निर्यात गत वर्षको भन्दा दोब्बर हो। यो अवधिमा गत वर्ष ३१ करोड ४७ लाख बराबरको यार्चागुम्बा निर्यात भएको तथ्याङ्क विभागले जानकारी दिएको छ।

नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ। नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ। आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ। यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ।

चीन, अस्टे«लिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ।

विभागका अनुसार चालु आवको सात महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा ४ करोड २० खाल रुपियाँ बराबरको ८४ किलो यार्चागुम्बा निर्यात भएको छ। 

यस्तै हङकङमा ३ सय ९९ केजी २६ करोड २४ लाखको निर्यात भएको छ। यार्चागुम्बा जडीबुटी, औषधी तथा महँगो किसिमको रक्सी बनाउनमा प्रयोग हुने गरेको छ। नेपालमा पाइने सात सयभन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधी यार्चागुम्बा पनि हो।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ।