अधिकांश बैंकहरूले घटाए ब्याजदर

काठमाडौं — फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् ।

बैंकहरूले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरूले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दती निक्षेपमा बढी र छोटो अवधिको मुद्दती निक्षेपमा कम ब्याजदर रहेको छ । 

कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत मुद्दतीमा ६.४ प्रतिशत ब्याजदर तोकेको छ । जबकि माघमा ७.२ प्रतिशत थियो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले फागुनका लागि ७.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर माघमा भने सो बैंकले ८.०७ प्रतिशत ब्याज दिएको थियो । 

त्यस्तै, प्राइम कमर्सियल बैंकले फागुनका लागि ७.४ प्रतिशत ब्याजदर तोकेको छ । सो बैंकले माघमा ८.१ प्रतिशत ब्याजदर दिएको थियो ।