अरुण चौधरीलाई हिरासतमुक्त गर्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु सरुवा

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार मुगु सरुवा गरेको सर्वोच्च उच्च स्रोतले जानकारी दियो ।उच्च स्रोतका अनुसार न्यायाधीश आचार्यमाथि सम्पत्ति शुद्धिकरणलगायत विषयमा थप अनुसन्धानसमेत हुने भएको छ । 

बाँसबारी छाला कारखानाको सरकारी जग्गा प्रकरणको अनुसन्धानमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले हाजिरी जमानीमा छाड्न आदेश गरेको थियो । 

न्यायाधीश आचार्यको एकल इजलासले उनीहरूलाई दुई दिनमा रिहा गर्न २२ माघमा आदेश गरेको थियो ।चौधरीसहितलाई २ दिन भित्र रिहा गर्न अदालतले जारी गरेको आदेशको चौतर्फी विरोध भएको छ । 

पहुँचवाला व्यवसायी मुछिएको केसमा अनुसन्धान भइरहँदा अदालतले अनुसन्धानको घेरालाई साँघुरो बनाउनेगरी आदेश दिएको भन्दै चौतर्फी विरोध भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित तत्कालीन अजितनारायण सिंह थापा र ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालतले सुरुमा ४ दिनको म्याद दिएको थियो । म्याद सकिएपछि प्रहरीले उनीहरूलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो । अदालतको आदेशसँगै चौधरीसहित उनीहरू रिहा भइसकेका छन् ।