आलमको मुद्दामा साक्षी झिकाउन आदेश

रौतहट जिल्ला अदालतले राजपुर बम कान्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो। 

आलमविरुद्धको मुद्दामा आज प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गरेका थिए।  त्यस्तै वादिको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्री कुमार कार्किले बहस गरेका थिए।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन्।

सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो।