सप्तरीको तिलाठी डुबानमा

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताउनुभयो । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति  पुर्‍याएको छ ।

भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताउनुभयो । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिनुभयो । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।

खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करौडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन ।

बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो ।

जोखिममा बेल्हीगाउँ

केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताउनुभयो । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ ।

बलान खोलामा आएको बाढीले बर्सेनि ५०-६० बिघा खेत कटान गर्ने गरेको र १२-१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउनुहुन्छ । धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गर्नुभयो । बलानखोलाले यादवको घर, इनार लगेपछि अन्यत्र सर्नुभएको छ । खोलाकै कारण साविकको बेल्ही गाविस–१ का ५०-६० घर बसाइँ सरेको यादवले बताउनुभयो ।

खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इञ्जीनियर नवीनकुमार झाले बताउनुभयो ।

झाले वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने बताउनुभयो । चुरे जङ्गलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ ।

वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत हुँदै गएको छ । धनी किसान र जमिन्दारको गाउँ भनेर चिनिने बेल्ही अहिले खाद्य सङ्कटको मारमा छ । बालुवाले खेत पुर्दै मरुभूमि बनाउँदै लगेपछि गाउँलेहरु रित्तो बन्दै गएका छन् ।

वर्षाको आरम्भमै १२-१३ बिघा जमीन कटान गरिसकेको छ स्थानीय काशिन्द्र गामी साहले भन्नुभयो, “पहाडतिरसमेत ठूलो वर्षा भएपछि यो वर्ष पनि दर्जनौँ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुग्नेछन् । स्थानीय सरकारको पहिलो ध्यान बलानखोला नियन्त्रणमा जानुपर्नेमा कुनै प्रयास नभएको साहले बताउनुभयो । उपभोक्ता समिति बनाएर अनावश्यक खर्च गरिरहेको स्थानीय तहले तीन वर्षदेखि बलानखोला नियन्त्रणमा कुनै लगानी नगरेको उहाँले बताउनुभयो ।

बलानखोलाबाट पीडित उमेश भन्नुहुन्छ, खोला नियन्त्रणका लागि बजेट विनियोजित हुन्छ र पनि काम हुँदैन, पैसा फर्केर जान्छ नभए भ्रष्टाचार हुन्छ ।” प्रत्येक साल झण्डै ५० बिघा जमीन खोलाले निलिरहेको उहाँले गुनासो गर्नुभयो ।

प्रत्येक वर्ष आउने बाढीले पुर्‍याएको क्षति हेर्न स्थानीय प्रशासनदेखि मन्त्री, सांसदले भ्रमण गर्छन्, ठूला आश्वासन बाँडछन् तर वर्षा सकिएपछि सबैले बिर्सन्छन् । बलानबिहुल गाउँपालिका निवासी प्रधानाध्यापक दिनेश्वर यादवले भन्नुभयो, गाउँ क्रमशः बगर बन्दैछ तर गाउँ जोगाउने कोही देखिएन ।