आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार: अर्थ समिति सांसद

काठमाडौं । अरबौं रकम नाफा कमाएर बाहिरिने बेला एनसेलको स्वामित्वकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार रहेको सांसदहरुले बताएका छन् । 

बुधबार बसेको अर्थ समितिको बैठकमा सांसद डा. स्वर्णिम वाग्लेले यसबारे अर्थ समितिले आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काट्नुपर्ने बताए।

‘आजियाटाले एनसेल सेयर बिक्रीबारे दुनियाँले थाहा पाउनेगरी तयार गरिएको दस्तावेजमै लगानीको वातावरण नभएको भनिएकाले आजियाटाको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ,’ उनले भने । 

एनसेलका नेपाली साझेदार भनिएका व्यक्तिले नेताहरुलाई नै घुमाइरहेको र तिनै साझेदारको हातमा अब एनसेल पूर्ण स्वामित्व जान लागेको उनको भनाइ छ । 

एनसेल खरिद-बिक्री सम्झौताका सर्त पनि अपत्यारिलो रहेको उनले बताए । आजियाटा कम्पनीका सीईओ, नेपाली साझेदार र अर्थमन्त्री समेतको उपस्थितिमा यसबारे छलफल हुनुपर्ने वाग्लेको भनाइ छ ।

सांसद दीपक खड्काले एनसेल प्रकरणले अर्थतन्त्र नै माफियाको हातबाट सञ्चालन भएजस्तो देखिएको बताए । ‘विदेशी लगानीकर्तालाई चिढायौं भने लगानीको वातावरण छैन, लगानी बाहिरिन्छ भन्यौं, तर अहिले तिनै कम्पनीले अरबौं कमाएपछि लगानीको वातावरण छैन भन्न मिल्छ ?’ उनले प्रश्न गरे । 

६ वर्षपछि एनसेलको स्वामित्व नेपाल सरकारको हुँदै गर्दा कानुनी छिद्रको फाइदा उठाउँदै आजियाटा बाहिरिन खोजेको उनको भनाइ छ ।

सांसद विराजभक्त श्रेष्ठले नेपालमा लगानीको वातावरण छैन भनेर आजियाटाले दिएको गैरजिम्मेवार अभिव्यक्तिले लगानीको वातावरणमा असर पार्ने बताए । यसले नेपालको सार्वभौमिकतामा पनि आँच आउने उनले बताए ।